सिन्धुली, जेठ २- सिन्धुलीको घ्याङलेख गाउँपालिका क्षेत्रका नागरिकहरूको आँखासम्बन्धी स्वास्थ्य समस्याको समाधान गर्ने उद्देश्यले निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ। उक्त शिविर घ्याङलेख गाउँपालिका र भक्तपुरस्थित ख्वप तिलगंगा आँखा अस्पताल को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो।
गाउँपालिकाले वैशाख २८ गते जारी गरेको सूचना अनुसार शिविर २०८३ जेठ ३ र ४ गते (दुई दिन) सञ्चालन हुनेछ। शिविरको आयोजना वडा नम्बर २ स्थित सामुदायिक स्वास्थ्य इकाई, डुम्रीमा गरिनेछ।
शिविरमा मोतिबिन्दु सम्बन्धी निःशुल्क परीक्षण तथा आवश्यक शल्यक्रिया सेवा प्रदान गरिनेछ। सेवा पूर्ण रूपमा निःशुल्क हुने जनाइएको छ।
शल्यक्रियाका लागि बिरामी छनोट प्रारम्भिक स्वास्थ्य परीक्षण (स्क्रिनिङ) मार्फत गरिएको छ। जसबाट शल्यक्रियाको लागि १२९ जना बिरामी छनौट भएका छन्। छनौट भएका बिरामीहरूको यातायात व्यवस्थापन गाउँपालिकाले गर्ने सूचनामा उल्लेख गरिएको छ।
त्यसैगरी, शिविरमा सहभागी हुने बिरामीहरूले आवश्यक व्यक्तिगत लत्ता–कपडा तथा अन्य अत्यावश्यक सामग्रीहरू आफैं साथमा ल्याउनुपर्नेछ सूचनामा भनिएको छ।
घ्याङलेख गाउँपालिकाले आँखासम्बन्धी समस्या भएका सम्पूर्ण नागरिकहरूलाई यस निःशुल्क शिविरको अधिकतम लाभ लिन हार्दिक आग्रह गरेको छ।