सिन्धुली, भदौ २७। सिन्धुलीको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टी घ्याङलेखका इन्चार्ज शंकरमान घलानले पार्टीको केन्द्रीयदेखि जिल्ला नेतृत्वसम्मको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै घ्याङलेखमा पार्टी निर्माण र संरक्षणको जिम्मेवारी आफूहरूले सम्हाल्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै इन्चार्ज घलानले पार्टी नेतृत्वले आफ्नो अनुकूल विभिन्न पार्टीसँग गठबन्धन, एकता तथा आन्तरिक साँठगाँठ गर्दै पार्टीलाई कमजोर बनाउँदा पनि आफूहरू मुकदर्शक बनेर काम गरिरहनुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।
उनले आफू पार्टी छोडेका आफन्तसँग पारिवारिक भेटघाटमा मात्र रहँदा पनि पार्टी छोडेर नयाँ पार्टीमा गएको भन्दै फोनमार्फत बधाई खानुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका छन् ।
घलानले आफूलाई घ्याङलेख पार्टीको नेतृत्व सुम्पिँदा पार्टी दोस्रो स्थानमा रहेको र आफू अध्यक्ष हुँदै इन्चार्जको भूमिकामा रहँदा राष्ट्रिय राजनीतिमा आएको हलचलका बाबजुद आचारसंहिताको वेवास्ता गर्दै पार्टीलाई प्रथम स्थानमा राख्न सफल भएको दाबी गरेका छन् ।
“हाम्रो टोलीले धन्यवाद पाउनु त कता हो कता, गाली र आरोप मात्र खाईरहनुपर्ने?” भन्दै उनले पार्टी निर्माणमा योगदान पुर्याउने कार्यकर्ताको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताएका छन् ।
उनले जिल्ला तथा अन्य पालिकाको पार्टी निर्माणमा ध्यान दिन नेतृत्वलाई आग्रह गर्दै घ्याङलेखको पार्टी निर्माण, संरक्षण र सुदृढीकरणको जिम्मेवारी आफूहरूले सम्हाल्ने स्पष्ट पारेका छन् ।
“हाम्रो घ्याङलेख पार्टी निर्माण गर्ने, जोगाउने, सबै जिम्मा हाम्रो हो, हामी सम्हाल्छौँ,” उनले लेखेका छन् ।
पार्टीभित्र भ्रम फैलाउने र आफूलाई कमजोर बनाउने प्रयास नगर्न चेतावनी दिँदै घलानले घ्याङलेखका केही युवाले पार्टी छोड्नुको कारण आफ्नो टोली नभई जिल्ला नेतृत्वको कार्यशैली भएको आरोप लगाएका छन् ।
उनले पार्टी नेतृत्वलाई गम्भीर आत्मसमीक्षा गर्न आग्रह गर्दै दायाँबायाँ भएका कार्यकर्तालाई समेत कमीकमजोरी सच्याएर पार्टीमै रहने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।