सिन्धुली — माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ मा मा. वि. मरिण हायुटार की छात्रा करुणा मगरले ३.७७ जीपीए प्राप्त गर्दै घ्याङलेख गाउँपालिकामै प्रथम हुन सफल भएकी छिन् । त्यसैगरी सोही विद्यालयकी छात्रा सोविना थोकरले ३.७३ जीपीए हासिल गर्दै पालिकास्तरमै दोस्रो स्थान हासिल गरेकी छिन् ।
विद्यालयले लगातार उत्कृष्ट नतिजा हासिल गरिरहेको क्रममा यस वर्ष पनि विद्यालयबाट सहभागी सम्पूर्ण ४६ जना विद्यार्थी उत्तीर्ण भई शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । तीमध्ये करुणा मगरले उच्च जीपीए हासिल गर्दै विद्यालय तथा पालिकाकै गौरव बढाएकी हुन् भने सोविना थोकरले पनि उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयको शैक्षिक प्रतिष्ठालाई थप उचाइमा पुर्याएकी छन् ।
करुणा मगर र सोविना थोकरको उत्कृष्ट उपलब्धिप्रति विद्यालय परिवार, शिक्षक, अभिभावक तथा स्थानीय समुदायले खुशी व्यक्त गरेका छन् । विद्यालयका प्रधानाध्यापक विजय कुमार थिङले विद्यार्थीहरुको मेहनत, नियमित अध्ययन, शिक्षक–अभिभावक तथा विद्यालय मातहतका समितिहरुको सहकार्यका कारण यस्तो सफलता प्राप्त भएको बताउँदै आगामी दिनमा पनि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयास जारी राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पालिकामै प्रथम हुन सफल करुणा मगर, दोस्रो स्थान हासिल गर्न सफल सोविना थोकर सहित सफल सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय परिवारले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।