घ्याङलेख गाउँपालिकामा दोस्रो पालिकास्तरीय ‘दशैं कप–२०८३’ खेलकुद प्रतियोगिता हुने

bulbulnews.com

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा दोस्रो पालिकास्तरीय खेलकुद प्रतियोगिता ‘दशैं कप–२०८३’ आयोजना हुने भएको छ। घ्याङलेख गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा नेपालीहरूको महान् पर्व विजयादशमीको अवसर पारेर स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा प्रवर्द्धन, युवाहरूमा खेलकुदप्रतिको आकर्षण वृद्धि र आपसी सद्भाव, भाइचारा तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

खेलकुद विकास समितिले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगितामा पुरुष फुटबल, पुरुष भलिबल, महिला फुटबल र महिला भलिबल गरी चार विधामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता २०८३ साल असोज ३०, ३१ गते र कात्तिक १ गते घ्याङलेख गाउँपालिका–स्थित पालिका खेलमैदान, डुम्री मा सञ्चालन हुनेछ। प्रतियोगितामा घ्याङलेख गाउँपालिकाभित्रका सम्बन्धित खेलाडी तथा टोलीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। टोली दर्ताको अन्तिम मिति २०८३ असोज २९ गते बेलुका ५ बजेसम्म तोकिएको छ।

यस्तो छ पुरस्कार राशि

पुरुष फुटबलतर्फ:

* प्रथम पुरस्कार : रु. ४०,०००

* द्वितीय पुरस्कार : रु. ३०,०००

* तृतीय पुरस्कार : रु. २०,०००

पुरुष भलिबलतर्फ:

* प्रथम पुरस्कार : रु. ३०,०००

* द्वितीय पुरस्कार : रु. २०,०००

* तृतीय पुरस्कार : रु. १०,०००

महिला फुटबलतर्फ:

* प्रथम पुरस्कार : रु. २५,०००

* द्वितीय पुरस्कार : रु. २०,०००

* तृतीय पुरस्कार : रु. १५,०००

महिला भलिबलतर्फ:

* प्रथम पुरस्कार : रु. २०,०००

* द्वितीय पुरस्कार : रु. १५,०००

* तृतीय पुरस्कार : रु. १०,०००

चारवटै विधाका प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई नगद पुरस्कारसँगै शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका सबै खेल नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। टोली दर्ताका क्रममा खेलाडीहरूको नामावली तथा आवश्यक परिचय खुल्ने कागजात पेश गर्नुपर्नेछ। एउटै खेलाडीले एउटै खेल विधामा एकभन्दा बढी टोलीबाट सहभागिता जनाउन नपाउने व्यवस्था गरिएको छ।

खेल सञ्चालनका क्रममा रेफ्री तथा निर्णायकको निर्णयलाई सम्मान गर्नुपर्ने, खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा टोलीका सदस्यहरूले खेलकुदको मर्यादा, अनुशासन र खेल भावना कायम राख्नुपर्ने आयोजकले जनाएको छ। अनुशासनहीन, झै–झगडा वा अमर्यादित व्यवहार गर्ने टोली वा खेलाडीलाई प्रतियोगिताबाट निष्कासन गर्न सकिने व्यवस्था समेत गरिएको छ।

मौसम तथा प्राविधिक वा अन्य विशेष परिस्थितिका कारण खेल तालिका परिवर्तन गर्नुपर्ने अवस्था आएमा आयोजक समितिको निर्णयअनुसार हुने जनाइएको छ। प्रतियोगितासम्बन्धी कुनै विवाद वा अस्पष्टता उत्पन्न भएमा घ्याङलेख गाउँपालिका खेलकुद विकास समितिको निर्णय अन्तिम हुने सूचनामा उल्लेख छ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले अनिवार्य रूपमा डिजिटल प्रोफाइलमा विवरण अद्यावधिक गरेको हुनुपर्ने आयोजकले जनाएको छ। टोली दर्ता अनलाइन माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया