सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, चन्दनपुरस्थित पेमा होइवारलिङ गुम्बाको आयोजनामा विशेष बौद्ध धार्मिक पूजा तथा व्रत कार्यक्रम सञ्चालन हुने भएको छ। आगामी असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म चार दिन सञ्चालन हुने उक्त कार्यक्रममा सहभागी हुन आयोजकले सम्पूर्ण धर्मप्रेमी तथा श्रद्धालु भक्तजनलाई आह्वान गरेको छ।
सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामनासहित आयोजना गर्न लागिएको उक्त कार्यक्रमले धार्मिक आस्था, आध्यात्मिक चिन्तन, करुणा र आपसी सद्भाव अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत गुम्बाका गुरुहरूको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुका साथै दुःख र कठिनाइमा रहेका सम्पूर्ण प्राणीको सुख, शान्ति तथा कल्याणका लागि प्रार्थना गरिने जनाइएको छ।
आयोजित कार्यक्रमअन्तर्गत पहिलो दिन असोज ३० गते शुक्रबार सहभागीहरूको आगमन, स्वागत तथा परिचय कार्यक्रम हुनेछ। दोस्रो दिन असोज ३१ गते शनिबार बिहान ७ बजेदेखि गुरुहरूको आशीर्वादसहित विशेष धार्मिक पूजा तथा प्रार्थना सुरु हुनेछ।
त्यस्तै, तेस्रो दिन कात्तिक १ गते आइतबार विशेष व्रत, ध्यान तथा प्रार्थनाका कार्यक्रम सञ्चालन हुनेछन्। यस क्रममा धार्मिक नियमको पालना गर्दै मन, वचन र कर्मलाई शुद्ध राख्ने तथा सबै प्राणीको सुख र कल्याणको कामना गरिनेछ।
कार्यक्रमको अन्तिम दिन कात्तिक २ गते सोमबार विशेष पूजा, व्रत समापन, धार्मिक समर्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिनेछ।
धार्मिक तथा आध्यात्मिक महत्त्व बोकेको यस कार्यक्रमले श्रद्धालुहरूलाई धार्मिक साधना र प्रार्थनामार्फत आत्मिक शान्ति प्राप्त गर्न तथा समाजमा करुणा, सद्भाव र सकारात्मक भावनाको विकास गर्न प्रेरित गर्ने विश्वास लिइएको छ।
यसै सन्दर्भमा आयोजकले सम्पूर्ण धर्मप्रेमी महानुभाव, श्रद्धालु भक्तजन तथा शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थित भई धार्मिक अनुष्ठानमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।