घ्याङलेख गाउँपालिकाद्वारा ४WD सिंगल क्याब पिकअप खरिद प्रक्रिया अघि बढाइयो

bulbulnews.com

सिन्धुली, वैशाख ३१ — सिन्धुलीको घ्याङलेख गाउँपालिका ले गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन ४WD Pick-up (Single Cab) सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गर्दै उत्पादक वा आधिकारिक विक्रेताबाट सिलबन्दी दरभाउपत्रमार्फत सवारी खरिद गर्न प्रस्ताव आह्वान गरेको हो।

गाउँपालिकाद्वारा प्रकाशित सूचनाअनुसार सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ (ख) बमोजिम उक्त सवारी खरिद प्रक्रिया सञ्चालन गरिनेछ। प्रस्ताव पेश गर्न इच्छुक उत्पादक कम्पनी वा आधिकारिक विक्रेताले कम्पनी दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN), आधिकारिकताको पत्र (Letter of Authorization) लगायत आवश्यक कागजात संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ।

सूचनामा उल्लेख भएअनुसार प्रस्ताव पेश गर्ने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले पन्ध्रौं दिन कार्यालय समयभित्र तोकिएको छ। प्राप्त प्रस्तावहरू सोही दिन बेलुका ५:१५ बजे घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय मा खोलिने जनाइएको छ।

गाउँपालिकाले आवश्यक प्राविधिक स्पेसिफिकेशन तथा अन्य विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराएको जनाएको छ। यस खरिद प्रक्रियाले गाउँपालिकाको प्रशासनिक तथा विकास निर्माण सम्बन्धी कार्यसम्पादनलाई थप चुस्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया