विद्यालयमै ‘नमुना हाट’ सञ्चालन : व्यवहारिक शिक्षामार्फत आत्मनिर्भरता सिकाउँदै मावि मरिण हायुटार

bulbulnews.com

सिन्धुली घ्याङलेख, जेठ ०८। सामुदायिक विद्यालयमा व्यवहारिक तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिने उद्देश्यसहित सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ स्थित मावि मरिण हायुटार ले विद्यालय परिसरमै ‘नमुना हाट’ सञ्चालन गरेको छ । अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम विद्यालयले दोस्रो पटक सञ्चालन गरेको हो ।

विद्यालय शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक जीवनसँग जोड्ने उद्देश्यले आयोजित हाट कार्यक्रममा विद्यार्थीहरूले गाउँघरमै उत्पादन भएका अर्गानिक तरकारी, फलफूल तथा स्थानीय कृषि उपजहरू प्रदर्शन तथा बिक्री वितरण गरेका थिए । कार्यक्रममा विद्यार्थी स्वयं विक्रेता बनेर किनबेचमा सक्रिय सहभागिता जनाउँदा विद्यालय परिसर नै ग्रामीण बजारको झल्को दिने गरी जीवन्त बनेको थियो ।

विद्यालय प्रशासनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, आर्थिक चेतना, उद्यमशील सोच तथा आत्मनिर्भर बन्ने सीप विकास गर्नु हो । स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरूलाई बजारसँग जोड्दै नगदमा रूपान्तरण गर्ने प्रक्रिया बुझाउन पनि कार्यक्रम प्रभावकारी बनेको विद्यालयको भनाइ छ ।

कार्यक्रममा घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, स्वास्थ्यकर्मी, अभिभावक, स्थानीय बुद्धिजीवी तथा गाउँवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले विद्यार्थीहरूको सिर्जनशीलता, सक्रियता र व्यवहारिक प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सानैदेखि श्रम, उत्पादन र व्यापारप्रतिको सकारात्मक दृष्टिकोण विकास गराउने उल्लेख गर्दै विद्यालय र स्थानीय तहले संयुक्त रूपमा यस्ता रचनात्मक अभ्यासलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले “व्यवहारिक शिक्षाले मात्र विद्यार्थीलाई भविष्यमा सक्षम र आत्मनिर्भर नागरिक बनाउन सक्छ,” भन्दै कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक विजय कुमार थिङ ले नमुना हाटले विद्यार्थीहरूलाई व्यापार गर्ने आधारभूत तरिका, उत्पादन व्यवस्थापन, ग्राहकसँगको व्यवहार तथा आर्थिक कारोबारबारे प्रत्यक्ष अनुभव दिलाएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता व्यवहारिक तथा जीवनोपयोगी कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

“विद्यालय शिक्षा केवल सैद्धान्तिक ज्ञानमा सीमित हुनु हुँदैन । विद्यार्थीले सिकेका कुरा व्यवहारमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो,” प्रधानाध्यापक थिङले भन्नुभयो, “यस्ता गतिविधिले विद्यार्थीहरूलाई स्वाबलम्बी, आत्मविश्वासी र सिर्जनशील बन्न प्रेरणा मिल्छ ।”

स्थानीय अभिभावकहरूले पनि विद्यालयले सुरु गरेको यस्तो अभ्यासले बालबालिकामा श्रमको सम्मान, स्थानीय उत्पादनप्रतिको अपनत्व तथा उद्यमशील संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् । ग्रामीण परिवेशमा आधारित यस्ता कार्यक्रमले विद्यालय, समुदाय र स्थानीय उत्पादनबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ ।

पछिल्लो समय व्यवहारिक तथा सीपमूलक शिक्षाको आवश्यकता बढिरहेका बेला मावि मरिण हायुटारले सञ्चालन गरेको नमुना हाट कार्यक्रम सामुदायिक विद्यालयका लागि प्रेरणादायी अभ्यासका रूपमा हेरिएको छ । शिक्षा र उत्पादनलाई जोड्ने यस्ता प्रयासले विद्यार्थीलाई भविष्यप्रति जिम्मेवार, सक्षम र आत्मनिर्भर नागरिक बन्ने मार्गमा अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया