सिन्धुलीका फोटो पत्रकार उधव कुमार श्रेष्ठ अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित हुने

bulbulnews.com

सिन्धुली। सिन्धुलीका फोटो पत्रकार उधव कुमार श्रेष्ठ अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित हुने भएका छन्। उनलाई “आईएचआई फोटोजर्नलिस्ट एप्रिसिएसन अवार्ड २०२६” प्रदान गरिने कार्यक्रम तय गरिएको छ। सम्मान समारोह बंगलादेशको राजधानी ढाकामा आगामी मे १ मा आयोजना हुने जनाइएको छ।

इम्पेरियल होटल इन्टरनेसनल (आईएचआई) अन्तर्गतको सेलिब्रेसन काउन्सिलले आयोजना गर्ने कार्यक्रममा श्रेष्ठलाई फोटो पत्रकारितामार्फत समाजका घटना, परिवेश र यथार्थलाई प्रभावकारी ढंगले चित्रमार्फत प्रस्तुत गरेको योगदानको मूल्यांकन गर्दै सम्मान गर्न लागिएको हो।

श्रेष्ठले पछिल्लो समय सिन्धुलीका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका तस्वीरहरू ढाकामा भइरहेका विभिन्न प्रदर्शनी र कार्यक्रममार्फत सार्वजनिक गरिरहेका छन्। ती तस्वीरहरूले सिन्धुलीको पहिचान, सांस्कृतिक सम्पदा र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउन सहयोग पुगेको बताइएको छ।

श्रेष्ठ हाल राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीका अध्यक्षका रूपमा कार्यरत छन्। साथै, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको कार्यसमिति सदस्यका रूपमा पनि सक्रिय रहेका छन्।

उनलाई प्राप्त हुन लागेको यो सम्मानले सिन्धुलीको पत्रकारिता क्षेत्रलाई थप उत्साहित बनाएको छ।


प्रतिक्रिया