सिन्धुली, वैशाख ३० — नेपाल सरकारले हुलाक सेवाको आधुनिकीकरण तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित “Government Courier Service” सञ्चालनमा ल्याएको छ। यस अन्तर्गत अब राहदानी (पासपोर्ट) सेवाग्राहीको घरमै पुर्याउने व्यवस्था सुरु गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ।
जिल्ला हुलाक कार्यालय सिन्धुलीद्वारा जारी सूचनाअनुसार नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभागको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग आवश्यक समन्वय गरी उक्त सेवा कार्यान्वयनमा ल्याइएको हो।
सूचनामा उल्लेख भएअनुसार मिति २०८३ वैशाख ३० गतेदेखि सेवाग्राहीको विवरण संकलन गरी राहदानी घरमै वितरण गर्ने कार्यको सुरुवात गरिएको छ। यस सेवामार्फत सेवाग्राहीले सहज, सुरक्षित तथा छिटो रूपमा राहदानी प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
जिल्ला हुलाक कार्यालय सिन्धुलीले सेवासम्बन्धी थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।