सिन्धुली, जेठ ३० — ग्रामीण क्षेत्रका साना किसानको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा कृषि उत्पादनलाई व्यवसायीकरण गर्ने उद्देश्यसहित स्थापना गरिएको श्री घ्याङलेख साना किसान कृषि सहकारी संस्था लिमिटेड को प्रारम्भिक साधारण सभा आज सम्पन्न भएको छ। घ्याङलेख गाउँपालिका–२ चन्दनपुरमा सम्पन्न सभाले प्रमिला वाइबाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गर्दै संस्थागत यात्रालाई औपचारिक गति दिएको हो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा बुद्धलाल पाख्रीन, सचिवमा सरिना तामाङ दोङ तथा कोषाध्यक्षमा पार्वती मुक्तान चयन भएका छन्। सभाले सहकारीमार्फत स्थानीय किसानको आयआर्जन वृद्धि, सीप विकास, उत्पादनशील लगानी विस्तार तथा कृषि क्षेत्रको दिगो विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा घ्याङलेख गाउँपालिका–१ का वडा अध्यक्ष सोमबहादुर भोलन प्रमुख अतिथि तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका कर्मचारी हेमबहादुर थापा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा तदर्थ समितिका अध्यक्ष प्रमिला वाइबाले संस्थाको स्थापना प्रक्रिया, हालसम्म सम्पन्न गतिविधि तथा भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले छोटो अवधिमै उल्लेखनीय संगठनात्मक आधार तयार गर्न सफल भएको जानकारी दिइन्। उनका अनुसार २०८२ सालदेखि औपचारिक रूपमा सुरु गरिएको अभियानअन्तर्गत हालसम्म २९२ जना सदस्य आबद्ध भएका छन् भने ४६ वटा समूह गठन भइसकेका छन्। सदस्यमध्ये अधिकांश महिला तथा जनजाति समुदायका रहेका छन्, जसले ग्रामीण महिलाको आर्थिक सहभागिता बढाउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको संकेत गर्दछ।
प्रतिवेदनअनुसार संस्थाले हालसम्म २ लाख १६ हजार रुपैयाँ शेयर पूँजी र ८५ हजार ७५० रुपैयाँ बचत संकलन गरी आन्तरिक स्रोत निर्माण गरेको छ। विभिन्न सहयोग तथा अनुदानसहित संस्थाको कुल वित्तीय आधार ३ लाख ७५ हजार रुपैयाँभन्दा बढी पुगेको छ। उक्त रकममध्ये करिब २ लाख ७९ हजार ९०० रुपैयाँ कृषि तथा उत्पादनमूलक क्षेत्रमा सदस्यहरूलाई ऋण लगानी गरिएको जानकारी दिइएको छ।
सहकारीले स्थापना कालमै सहकारी व्यवस्थापन, लेखा प्रणाली, व्यवसायिक योजना निर्माण तथा सदस्य अभिमुखीकरणसम्बन्धी विभिन्न तालिम सञ्चालन गरेको छ। साथै साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै किसानलाई सुलभ कर्जा, कृषि प्रविधि तथा क्षमता विकास कार्यक्रम उपलब्ध गराउने तयारी गरिएको जनाइएको छ।
सभामा बोल्ने वक्ताहरूले ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका किसानलाई संगठित गरी उत्पादन, संकलन, प्रशोधन र बजारीकरणसम्मको मूल्य शृंखलामा जोड्न सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका थिए। उनीहरूले सहकारीलाई केवल वित्तीय कारोबारको माध्यम नभई किसानको जीवनस्तर उकास्ने सामाजिक तथा आर्थिक अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।
संस्थाले आगामी आर्थिक वर्षमा सहकारी शिक्षा तालिम, कृषि कर्जा विस्तार, पशु तथा बाली बीमा, कृषि सामग्रीको सहज आपूर्ति, उत्पादनको बजारीकरण, उत्कृष्ट कृषक सम्मान, डिजिटल लेखा प्रणाली सञ्चालन तथा “एक घर, एक साना किसान सदस्य” अभियानलाई प्राथमिकताका साथ अघि बढाउने योजना सार्वजनिक गरेको छ। साथै स्थानीय सरकार, प्रदेश सरकार तथा सम्बन्धित निकायसँगको सहकार्यमा कृषि उद्यमशीलता विकासका कार्यक्रम विस्तार गरिने जनाइएको छ।
ग्रामीण समुदायको सानो बचतलाई ठूलो आर्थिक शक्तिमा रूपान्तरण गर्दै आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित स्थापना भएको घ्याङलेख साना किसान कृषि सहकारी संस्था लिमिटेडले स्थानीय किसानमा नयाँ आशा र उत्साह जगाएको सहभागीहरूको भनाइ छ। सहकारीको प्रभावकारी सञ्चालनले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण समृद्धिको अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
13 June 2026