सिन्धुली, असार १० — सिन्धुलीको घ्याङलेख गाउँपालिकाले आज आयोजित गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनको अवसरमा शिक्षा क्षेत्रका उत्कृष्ट व्यक्ति तथा विद्यालयलाई सम्मान गरिएको छ।
गाउँपालिकाले शैक्षिकसत्र २०८२ मा शिक्षा क्षेत्रमा पुर्याएको योगदान र कार्यसम्पादनका आधारमा विभिन्न विधामा उत्कृष्ट छनोट गर्दै सम्मान प्रदान गरेको हो।
विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) तर्फ बुद्ध पाख्रिन (माध्यमिक विद्यालय गोपे) र जनक स्याङ्तान (माध्यमिक विद्यालय मरिण हायुटार) उत्कृष्ट घोषित भएका छन्।
त्यसैगरी, प्रधानाध्यापकतर्फ सविता स्याङ्तान (आधारभूत विद्यालय गर्के) र शिक्षकतर्फ विद्या कुमारी श्रेष्ठ (आधारभूत विद्यालय बेलबोट) उत्कृष्ट घोषित भई सम्मानित भएका छन्।
यस्तै, माध्यमिक विद्यालय मरिण हायुटार लाई घ्याङलेख गाउँपालिकाको उत्कृष्ट विद्यालयका रूपमा सम्मान गरिएको छ।
गाउँपालिकाले उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्दै शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ।