घ्याङलेखमा तामाङ मातृभाषा शिक्षा कार्यक्रम, कक्षा ३ को पाठ्यपुस्तक लेखन तथा शिक्षक तालिम सम्पन्न

bulbulnews.com

सिन्धुली, वैशाख १८ — सिन्धुलीको घ्याङलेख गाउँपालिकामा तामाङ मातृभाषा शिक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित कक्षा ३ को तामाङ मातृभाषा पाठ्यपुस्तक लेखनका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम तथा शिक्षक तालिम सम्पन्न भएको छ।

नेपाल तामाङ घेदुङ सिन्धुलीको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम वैशाख १५ गतेदेखि गाउँपालिकाको सभा हलमा सुरु भएको हो । आज सम्पन्न हुने कार्यक्रममा गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूको उत्साहजनक तथा सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य समुदायका बालबालिकाहरुलाई आफ्नै पहिलो मातृभाषाबाट पठनपाठन गर्ने, मातृभाषाको संरक्षण, संवर्द्धन, उत्थान र विकास गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोड्नु रहेको बताइएको छ। साथै स्थानीय विद्यालयहरूमा मातृभाषामै गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ।

घ्याङलेख गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा कक्षा १ र २ मा विगत तीन वर्षदेखि तामाङ मातृभाषा विषयको पठनपाठन हुँदै आएको छ। सोही अभियानलाई निरन्तरता दिँदै अब कक्षा ३ का लागि समेत पाठ्यपुस्तक निर्माण प्रक्रिया अघि बढाइएको हो।

तालिम तथा पाठ्यपुस्तक लेखन कार्यमा तामाङ भाषा लेखक तथा प्रशिक्षक प्रतीक ङेसुर तामाङ, दर्पण भ्लोन तथा नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष सुरद बहादुर स्याङतान (बृहत्) प्रशिक्षकका रूपमा सहभागी रहेका छन्। उनीहरूले मातृभाषा शिक्षाको महत्व, पाठ्यसामग्री निर्माण, शिक्षण विधि तथा भाषा संरक्षणका विविध पक्षमा सहजीकरण गरेका छन्।

आयोजकका अनुसार आउँदो जेठ १५ गतेभित्र कक्षा ३ को पाठ्यपुस्तक निर्माण सम्पन्न गरी गाउँपालिकाभित्रका विद्यालयहरूमा वितरण गरिनेछ। यसले स्थानीय विद्यार्थीहरूलाई आफ्नै मातृभाषामा अध्ययन गर्ने अवसर थप विस्तार हुने विश्वास गरिएको छ।

स्थानीय तह, समुदाय र सरोकारवालाको संयुक्त प्रयासबाट सञ्चालन गरिएको यो अभियान मातृभाषा शिक्षाको क्षेत्रमा घ्याङलेख गाउँपालिकाका लागि उदाहरणीय पहलका रूपमा हेरिएको छ।

प्रतिक्रिया