सिन्धुली — सिन्धुलीको घ्याङलेख गाउँपालिका क्षेत्रभित्र कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित दुई दिने “कर्मचारीहरूको क्षमता विकासका लागि उद्घोषण कला तालिम” सफलतापूर्वक सम्पन्न भएको छ।
हिमालय सञ्चार गृह प्रा.लि., कमलामाई नगरपालिका–४, सिन्धुलीको आयोजना तथा घ्याङलेख गाउँपालिकाको सहयोगमा चैत्र १ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो।
समापन कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेलज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मुख्य प्रशिक्षक तथा उत्प्रेरक वक्ता (मोटिभेशनल स्पिकर) अनिता बल लामाज्यूले प्रशिक्षण दिनुभएको थियो। उहाँले सहभागी कर्मचारीहरूलाई उद्घोषण कला, प्रभावकारी सञ्चार सीप तथा व्यक्तित्व विकासका विभिन्न पक्षहरूका बारेमा विस्तृत रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
तालिममा घ्याङलेख गाउँपालिकाका विभिन्न शाखा, इकाइ, सेवा केन्द्र तथा वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरू र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
यस तालिमले कर्मचारीहरूको सार्वजनिक रूपमा बोल्ने क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै दैनिक सेवा प्रवाहलाई अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।