पहिरोमा पुरिएका हेमबहादुर मगर पाँच घण्टापछि सकुशल उद्धार

bulbulnews.com

सिन्धुली, असार २९। गोलन्जोर गाउँपालिका–४ तिनकन्या बेखटाडीमा शनिबार राति करिब ८:३० बजे अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा घरभित्रै फसेका स्थानीय हेमबहादुर मगर लाई करिब पाँच घण्टापछि सकुशल उद्धार गरिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ गोलन्जोर गाउँपालिकाले इलाका प्रहरी कार्यालय, प्रहरी चौकी ग्वाल्टार, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोट तथा गाउँपालिका विपद् व्यवस्थापन टोलीसँग समन्वय गरी संयुक्त उद्धार अभियान सञ्चालन गरेको थियो।

अविरल वर्षाका कारण सडकहरू भत्किएका र पहिरोले अवरुद्ध बनेका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि स्थानीयबासी, युवा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रिय सहयोगमा राति करिब ११:३० बजे हेमबहादुर मगरको सकुशल उद्धार गरिएको थियो। त्यसपछि उहाँलाई राति करिब २ बजे गोलन्जोर आधारभूत अस्पताल पुर्‍याई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको छ।

प्रतिक्रिया