काठमाडौँ — फिफा विश्वकप फुटबल अन्तर्गत गएराति सम्पन्न खेलहरूमा जर्मनी र नेदरल्यान्ड्स विजयी भएका छन्। आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ भने स्वीडेनमाथि ५–१ को प्रभावशाली जित निकाल्दै नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ।
समूह ‘ई’ अन्तर्गत क्यानडाको टोरन्टोमा भएको खेलमा जर्मनीले पुनरागमन जित दर्ता गर्यो। खेलको ३०औँ मिनेटमा कप्तान फ्रान्क केसीको गोलबाट आइभरी कोस्टले अग्रता लिए पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका डेनिस उन्डाभ जर्मनीका नायक बने।
उन्डाभले ६८औँ मिनेटमा बराबरी गोल गरे भने इन्जुरी समयको चौथो मिनेटमा निर्णायक गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाए। लगातार दोस्रो जितसँगै जर्मनीले ६ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान पक्का गरेको छ। आइभरी कोस्ट ३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।
यता, समूह ‘एफ’ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा नेदरल्यान्ड्सले स्वीडेनमाथि गोल वर्षा गर्यो। ब्रायन ब्रोबीले छैटौँ र १७औँ मिनेटमा गोल गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाए।
दोस्रो हाफको सुरुमै कोडी गाक्पोले गोल थपे भने ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ४–० पुर्याए। स्वीडेनका एन्थोनी एलांगाले एक गोल फर्काए पनि ८९औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गरेपछि नेदरल्यान्ड्सले ५–१ को शानदार जित हात पार्यो।
21 June 2026