सिन्धुली हिरासत मृत्यु प्रकरण: परिवारद्वारा ‘हत्याको’ आरोप, प्रहरीद्वारा 'भ्रामक' खबर नफैलाउन आग्रह

bulbulnews.com

सिन्धुली १० वैशाख। सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३ निवासी २२ वर्षीय श्रीकृष्ण वि.क.को प्रहरी हिरासतमा मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ। मृतकका परिवारले प्रहरी यातनाका कारण मृत्यु भएको आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको जनाएको छ।

मृतककी आमा विन्दामाया वि.क.ले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो छोरालाई योजनाबद्ध रूपमा फसाई हिरासतमा अमानवीय व्यवहार तथा यातना दिइएको आरोप लगाएकी छन्। उनका अनुसार सुरुमा बालविवाहसम्बन्धी विषयमा नियन्त्रणमा लिइएका श्रीकृष्णमाथि पछि दबाब सिर्जना गरी जबरजस्ती करणी मुद्दा दर्ता गरिएको हो।

परिवारले हिरासतमा मानसिक तथा शारीरिक यातना दिई जबरजस्ती बयानमा सहीछाप गराइएको दाबी गरेको छ। साथै प्रहरीले वैशाख ७ गते साँझ शौचालयको झ्यालमा सर्टको पासो लगाई आत्महत्या गरेको जनाएको घटनालाई परिवारले अस्वीकार गर्दै उक्त दाबी अविश्वसनीय रहेको जनाएको छ। पुरानो सुती सर्टबाट झुण्डिन सम्भव नभएको भन्दै परिवारले यसलाई हत्या लुकाउने प्रयास भएको आरोप लगाएको छ।

विज्ञप्तिमा घटनाको जानकारी ढिलाइ गरी दिइएको तथा शव बुझ्न र दाहसंस्कार गर्न प्रशासनबाट मानसिक दबाब दिइएको समेत उल्लेख गरिएको छ।

यता, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गरिने प्रतिबद्धता जनाएको छ। प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका श्रीकृष्ण वि.क. शौचालयभित्र भेन्टिलेसनको रडमा झुण्डिएको अवस्थामा फेला परेका थिए र तत्काल उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ।

प्रहरीले सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जनाएको छ। उक्त समितिमा पीडित पक्षका प्रतिनिधि, दलित संघ–संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायको सहभागिता रहने जनाइएको छ।

मृतककी आमा विन्दामायाले आफू एकल महिला भएको र केही महिनाअघि मात्रै पतिलाई गुमाएको उल्लेख गर्दै घटनाको निष्पक्ष न्यायिक छानबिनका लागि सरकारी स्तरबाट उच्चस्तरीय आयोग गठन गर्न माग गरेकी छन्। दोषीलाई कारबाही नगरेसम्म र सत्यतथ्य सार्वजनिक नभएसम्म न्यायका लागि संघर्ष जारी राख्ने उनको भनाइ छ।

हाल मृतकको शव सिन्धुली अस्पतालको शव गृहमा राखिएको छ। छानबिन समितिको प्रतिवेदन आएपछि मात्र घटनाबारे थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया