दक्षिण सुडानको राजधानी जुबा नजिकै विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको ज्यान गएको छ।
दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमध्ये १२ जना दक्षिण सुडानी तथा दुई जना केन्याली नागरिक रहेका छन्। उक्त विमान जुबा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमै करिब २० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।
प्रारम्भिक रूपमा खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ। राजनीतिक अस्थिरता, द्वन्द्व र गरिबीको असर झेलिरहेको दक्षिण सुडानमा सुरक्षित तथा भरपर्दो यातायात पूर्वाधारको अभाव रहेको छ। त्यहाँ क्षमताभन्दा बढी भार बोकेर उडान गर्ने र प्रतिकूल मौसमका कारण बेलाबेला विमान दुर्घटना हुने गरेका छन्।
यसअघि सन् २०२५ जनवरीमा पनि उत्तरी दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो।
28 April 2026