बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ ले यथार्थपरक सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित गीतहरू लेखेर जनचेतना फैलाउने काम गर्दै आउनुभएको छ ।
उहाँले समाजमा देखिने असमानता, गरिबी, शासकीय अभ्यास, तथा जनजीवनसँग सम्बन्धित विषयलाई गीतका माध्यमबाट अभिव्यक्त गर्दै सन्देशमूलक श्रव्यदृश्य सामग्री सार्वजनिक गर्दै आइरहनुभएको छ । यस्ता सिर्जनाहरूले आम नागरिकको भावना, पीडा र अपेक्षालाई कलात्मक ढङ्गले उजागर गर्ने प्रयास गर्ने गरेको देखिन्छ ।
श्रेष्ठले लेख्ने गीतहरूमा सामाजिक यथार्थ, नागरिक अधिकार, शान्ति, न्याय र जनताको स्वाभिमानजस्ता विषयहरू प्रमुख रूपमा उठाइने गरिन्छ । उहाँका सिर्जनाले केवल मनोरञ्जन मात्र नभई सोच परिवर्तन गर्ने र सामाजिक सचेतना जगाउने उद्देश्य बोकेको बताइन्छ ।
सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने यस्ता गीत तथा श्रव्यदृश्य सामग्रीहरू पछिल्लो समय व्यापक रूपमा फैलिँदै गएका छन् । विशेषगरी युवापुस्तामाझ यस्ता सामग्रीप्रति चासो बढ्दै गएको देखिन्छ ।
उहाँको यस्तो सिर्जनात्मक अभ्यासलाई केहीले कला र राजनीतिक चेतनाको संयोजनका रूपमा व्याख्या गरेका छन् भने केहीले यसलाई सामाजिक मुद्दामा जनचेतना फैलाउने प्रभावकारी माध्यमका रूपमा लिएका छन् ।
उहाँको पछिल्लो रचनाहरु
( १ )
हिजो आज उदास छन् स्वयम्भूका आँखाहरू
मन्दिर, मस्जिद अशान्त छन् चैत्य र गुम्बाहरू
मन्दिर, मस्जिद अशान्त छन् चैत्य र गुम्बाहरू...
घर न घाट्का भएका छन् सुकुम्बासी गरिबहरू
मोजमस्ती गरिरा´छन् दरबारमा शासकहरू
सुकुम्बासी लखेटेर देश सुन्दर बनाउने रे
सेना, पुलिस लगाएर शासन सत्ता चलाउने रे !
हिजो आज उदास छन् स्वयम्भूका आँखाहरू
मन्दिर, मस्जिद अशान्त छन् चैत्य र गुम्बाहरू
निरंकुश तन्त्रहरूलाई बन्दुकले बचाएन
अत्याचारी शासकहरूलाई जनताले पचाएन
खबरदार, होसियार निरंकुश शासकहरू
झुक्ने छैनन् तिम्रा सामु स्वाभिमानी जनताहरू
खबरदार, होसियार निरंकुश शासकहरू
झुक्ने छैनन् तिम्रा सामु स्वाभिमानी जनताहरू...
स्वाभिमानी जनताहरू...
______________________
( २ )
आसुको धारा नबगाऊ आमा ढुंगाको अगाडि
दयाको भिख नमाग बाबा दानवको अगाडि
दयाको भिख नमाग बाबा दानवको अगाडि...
दानवको अगाडि...
मानिसको मुटु बन्दछ जब--
ढुंगा र पत्थर
त्यै मानिस आखिर बन्दछ क्रुर--
शासक जब्बर
हिंसा र ध्वंस लेखिन्छ उसको--
विकृत मगजमा
दया र माया मेटिन्छ उसको--
मन र मुटुमा...
आसुको धारा नबगाऊ आमा ढुंगाको अगाडि
दयाको भिख नमाग बाबा दानवको अगाडि
दानवको अगाडि...
गरिबलाई उसले ठान्दैन मान्छे--
बुख्याँचा ठान्दछ
मजदुरलाई उसले गन्दैन मान्छे--
पशु झैँ मान्दछ
ढुंगाले डुङ्गा तार्दैन आमा--
आँसुमा डुबाउँछ
दानवले मानव चिन्दैन बाबा--
चिहानमा पुर्याउँछ...चिहानमा पुर्याउँछ
आसुको धारा नबगाऊ आमा ढुंगाको अगाडि
दयाको भिख नमाग बाबा दानवको अगाडि
दयाको भिख नमाग बाबा दानवको अगाडि...
दानवको अगाडि...