फ्रान्स विश्वकपको नकआउट चरणमा, एम्बाप्पेको उत्कृष्ट प्रदर्शन

bulbulnews.com

फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न खेलमा फ्रान्सले इराकमाथि ३–० को प्रभावशाली जित दर्ता गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

फिलाडेल्फियामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पे चम्किए। उनले खेलको १४औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। पहिलो हाफपछि प्रतिकूल मौसमका कारण खेल करिब दुई घण्टा अवरुद्ध भएको थियो।

खेल पुनः सुरु भएपछि ६६औँ मिनेटमा उस्मान डेम्बेलेले अर्को गोल थपे र फ्रान्सले ३–० को सहज अग्रता बनायो। बाँकी समयमा कुनै टोलीबाट थप गोल हुन नसकेपछि फ्रान्स विजयी बन्यो।

यसअघि आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले हराएको फ्रान्सले लगातार दोस्रो जितसँगै ६ अंक जोड्दै अन्तिम ३२ अर्थात् नकआउट चरणको यात्रा तय गरेको हो।

यता, साबिक विश्व विजेता अर्जेन्टिनाले पनि अष्ट्रियामाथि २–० को जित निकाल्दै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ। उक्त खेलमा कप्तान लियोनल मेसीले दुवै गोल गरेका थिए।

मेसीले यस उपलब्धिसँगै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमानसमेत कायम गरेका छन्। उनका विश्वकप गोलको संख्या अब १८ पुगेको छ।

प्रतिक्रिया