सिन्धुली, वैशाख २४ — सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तिपुरमा कवुलियती वन समूहका सदस्यहरूलाई लक्षित गरी सञ्चालन गरिएको सीपमूलक तालिम तथा सामग्री वितरण कार्यक्रम चौथो दिनसम्म जारी रहेको छ।
डिभिजन वन कार्यालय मरिण कपिलाकोट सिन्धुली तथा सव डिभिजन वन कार्यालय बस्तिपुर सिन्धुली को आयोजनामा २०८३ वैशाख २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम स्थानीय समुदायका लागि उपयोगी र प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (GEF), वल्र्ड वाइल्डलाइफ फण्ड (WWF) तथा मारिण परियोजना को सहयोग रहेको छ।
तालिममा सहभागीहरूलाई डोको, नाङलो, मुडा लगायतका परम्परागत सामग्री निर्माणसम्बन्धी व्यवहारिक सीप सिकाइँदै आएको छ। स्थानीय स्रोत र परम्परागत ज्ञानको संरक्षण गर्दै सीपमार्फत आत्मनिर्भर बन्ने उद्देश्यले सञ्चालन गरिएको तालिमप्रति स्थानीयवासीहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ।
सीप सिक्न पाउँदा स्थानीय सहभागीहरू हर्षित बनेका छन्। सहभागीहरूले यस्ता कार्यक्रमले परम्परागत कला तथा सीप संरक्षणसँगै आयआर्जनको अवसरसमेत सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रम अन्तर्गत सहभागीहरूलाई आवश्यक सामग्रीसमेत वितरण गरिएको छ। वन संरक्षण, वातावरणीय सन्तुलन तथा समुदायको जीविकोपार्जन सुधारमा टेवा पुर्याउने लक्ष्यसहित सञ्चालन गरिएको उक्त कार्यक्रम वैशाख २५ गते सम्पन्न हुने जनाइएको छ।