जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित बनाउन मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउने सूचना जारी गरेको छ।
कार्यालयद्वारा जारी सूचनाअनुसार मिति २०८२ फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई मध्यनजर गरेर अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ। फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म उक्त व्यवस्था लागू हुनेछ।
एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी तथा सञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन तथा पास प्राप्त गरेका सवारीसाधनहरूलाई भने सञ्चालन अनुमति दिइने जनाइएको छ।
जिल्ला सुरक्षा समिति, सिन्धुलीको निर्णयअनुसार जारी गरिएको उक्त सूचनाको उल्लङ्घन गरेमा प्रचलित कानूनबमोजिम कारबाही गरिने समेत प्रशासनले चेतावनी दिएको छ।