काठमाडौँ – गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री बोकेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
मृतकमध्ये दुई जना महिला र पाँच जना पुरुष रहेका छन्। गोरखाको शहीद लखन गाउँपालिका–३ कान्टारमा हिजो बेलुका बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस दुर्घटना भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार माइक्रोबसमा मनकामना मन्दिर दर्शनका लागि आएका १४ जना भारतीय तीर्थयात्री तथा चालक र सहचालक गरी जम्मा १६ जना सवार थिए।
दुर्घटनामा घाइते भएका ९ जनाको तनहुँको आँबुखैरेनी अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको गोरखा प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभएको छ।