बि.पि. राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ हिरापानी नजिक बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मिति २०८२ फागुन २० गते दिउँसो करिब १२:५५ बजे काठमाडौंबाट मरिणतर्फ जाँदै गरेको बा.४ ख ३८९४ नम्बरको बस र विपरीत दिशाबाट सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज.१० प ९२३ नम्बरको स्कुटर आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक अन्दाजी ३०/३५ वर्षका पुरुष गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा दिउँसो १:३० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको र पहिचानको प्रयास भइरहेको छ।
बस चालक हरिहरपुरगढी गाउँपालिका–५ निवासी ४१ वर्षीय राजकुमार माझी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।
दुर्घटनास्थल प्रहरी चौकी ढुङ्ग्रेबासबाट करिब एक किलोमिटर पश्चिम तथा जिल्ला प्रहरी कार्यालयबाट करिब पाँच किलोमिटर पश्चिमतर्फ पर्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।